युद्धले तेल बजार हल्लियो : अमेरिकाले अस्थायी रूपमा रुसी तेल किन्ने बाटो खोल्यो
२०८२ फाल्गुन २९, शुक्रबार ११:५७
मस्को ,इरान–अमेरिका–इजरायलबीचको द्वन्द्वका कारण विश्व ऊर्जा बजार फेरि अस्थिर बनेको छ। कच्चा तेलको मूल्य १०० डलर प्रतिव्यारेल नाघेपछि अमेरिकाले अप्रत्याशित निर्णय गर्दै अन्य देशलाई अस्थायी रूपमा रूसबाट तेल किन्न अनुमति दिएको छ।
अमेरिकी ट्रेजरी विभागले विशेष लाइसेन्स जारी गर्दै ११ अप्रिलसम्म समुद्रमा लोड भइसकेका रुसी कच्चा तेल तथा पेट्रोलियम पदार्थको बिक्री र डेलिभरी गर्न छुट दिएको हो। अहिले रूसका धेरै तेल ट्यांकर एशियाली देशहरू नजिक समुद्रमा रोकिएर बसेका छन्, जसलाई अब बजारमा पठाउन सकिनेछ।
अमेरिकाका ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टका अनुसार यो निर्णय विश्व बजारमा तेल आपूर्ति बढाएर बढ्दो मूल्य नियन्त्रण गर्नका लागि गरिएको अस्थायी कदम मात्र हो। उनले यसबाट रूसलाई ठूलो आर्थिक फाइदा नहुने दाबी पनि गरेका छन्।
यो निर्णयको मुख्य कारण मध्यपूर्वको संवेदनशील तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा बढेको जोखिम हो। करिब २० प्रतिशत विश्व तेल यही मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँ तनाव बढ्दा आपूर्ति अवरुद्ध हुने खतरा बढेको छ।
यसैबीच इरानले कच्चा तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला दिनमा ब्रेन्ट क्रूडको मूल्य १२० डलर नजिक पुगेपछि विश्व बजारमा ऊर्जा संकटको चिन्ता थपिएको छ।
स्मरण रहोस्, सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपेली देशहरूले रुसी तेलमाथि कडा प्रतिबन्ध लगाएका थिए। तर अहिलेको युद्ध र आपूर्ति संकटका कारण अमेरिकालाई केही समयका लागि आफ्नै नीति लचक बनाउनु परेको देखिन्छ।




