नयाँदिल्ली ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। विपक्षी दलका एक नेताले भारतका विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक भेट गर्नु सामान्य कूटनीतिक घटनामात्र होइन, यसले नेपाल–भारत सम्बन्ध, दलगत कूटनीति र भविष्यको राजनीतिक समीकरणबारे पनि अनेक प्रश्न उठाएको छ।

दिल्लीमा भएको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाल–भारत विकास साझेदारी, जनता–जनता सम्बन्ध तथा साझा समृद्धिबारे छलफल भएको जानकारी दिएका छन्। यो सन्देशले भारतले लामिछानेलाई केवल एक विपक्षी नेताका रूपमा मात्र नभई भविष्यमा प्रभावशाली राजनीतिक पात्रका रूपमा पनि हेरेको संकेत दिन्छ।

नेपालमा लामो समयदेखि सत्तारूढ दलका शीर्ष नेताहरूले मात्र भारतीय उच्च नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने परम्परा रहेको छ। यस्तो अवस्थामा विपक्षी दलका सभापतिलाई विदेशमन्त्रीस्तरको भेट मिल्नु आफैंमा राजनीतिक महत्वको विषय बनेको छ। अझ गृहमन्त्री अमित शाहसँग भेट र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्भावित भेटको चर्चा हुनुले भ्रमणको राजनीतिक तौल अझ बढाएको छ।

यद्यपि, यस्तो भ्रमणले स्वाभाविक रूपमा प्रश्नहरू पनि जन्माउँछ। के यो केवल दलगत सम्बन्ध विस्तारको प्रयास हो? वा नेपालमा उदाइरहेको नयाँ राजनीतिक शक्तिसँग भारतले सम्बन्ध सुदृढ बनाउन खोजेको संकेत हो? दक्षिण एशियाली कूटनीतिमा छिमेकी देशका प्रभावशाली विपक्षी नेतासँग सम्बन्ध कायम राख्ने अभ्यास नयाँ होइन। भारतले पनि नेपालका विभिन्न राजनीतिक धारसँग समानान्तर संवाद कायम राख्दै आएको इतिहास छ।

रास्वपाका लागि भने यो भ्रमण अन्तर्राष्ट्रिय स्वीकार्यता विस्तार गर्ने अवसरका रूपमा देखिन्छ। पछिल्ला महिनाहरूमा विभिन्न राजनीतिक र कानुनी चुनौतीको सामना गरिरहेको पार्टीका लागि यो भ्रमणले राजनीतिक सन्देश दिने काम गरेको छ। पार्टी नेतृत्वले आफूलाई केवल वैकल्पिक शक्ति मात्र नभई क्षेत्रीय कूटनीतिक वृत्तमा पनि स्वीकार्य राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।

अर्कोतर्फ, नेपालको राजनीतिक वृत्तमा भारतसँगको सम्बन्ध सधैं संवेदनशील विषय रहँदै आएको छ। त्यसैले भ्रमणको उपलब्धि भेटघाटको सूचीले मात्र निर्धारण गर्दैन। त्यसबाट नेपालको राष्ट्रिय हित, द्विपक्षीय सम्बन्ध र लोकतान्त्रिक अभ्यासलाई कति सकारात्मक योगदान पुग्छ भन्ने पक्ष नै अन्ततः महत्वपूर्ण हुनेछ।

दिल्लीको यो भेटवार्ता तत्काल ठूलो नीतिगत परिवर्तनको आधार नबन्न सक्छ। तर यसले एउटा स्पष्ट सन्देश दिएको छ, नेपालको राजनीतिक नक्सामा रवि लामिछाने र रास्वपालाई क्षेत्रीय शक्ति केन्द्रहरूले पनि गम्भीरतापूर्वक नियाल्न थालेका छन्।