ब्रिक्समा साझा मुद्रा होइन, आफ्नै मुद्रामा कारोबार बढाउने तयारी
२०८३ भाद्र २८, आईतवार ११:२८
काठमाडौं । ब्रिक्स राष्ट्रहरूले तत्काल साझा मुद्रा निर्माण गर्ने दिशामा अघि नबढ्ने स्पष्ट पारेका छन्। बरु सदस्य राष्ट्रबीच आफ्नै राष्ट्रिय मुद्रामा व्यापार तथा भुक्तानी बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
भारतमा जारी ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारतले ब्रिक्सको छुट्टै साझा मुद्रा बनाउने विषयमा हाल कुनै प्रस्ताव नरहेको स्पष्ट पारेको हो।
भारतको विदेश मन्त्रालयका अनुसार ब्रिक्सभित्र स्थानीय मुद्रामा व्यापार र आपसी भुक्तानीलाई प्रोत्साहन गर्ने विषयमा भने छलफल भइरहेको छ। यस्तो व्यवस्थाले सदस्य राष्ट्रबीचको कारोबारलाई सहज बनाउनुका साथै विदेशी मुद्रामा निर्भरता र कारोबार लागत घटाउने अपेक्षा गरिएको छ।
डलर निर्भरता घटाउने प्रयास
ब्रिक्स राष्ट्रहरूले पछिल्ला वर्षहरूमा आपसी व्यापारमा अमेरिकी डलरको प्रयोग घटाउँदै राष्ट्रिय मुद्राको प्रयोग बढाउने प्रयास गरिरहेका छन्।
यससँगै सदस्य राष्ट्रका डिजिटल भुक्तानी प्रणालीलाई आपसमा जोड्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ। डिजिटल भुक्तानी प्रणालीबीच अन्तरसम्बन्ध विकास गर्न सके सीमापार कारोबारलाई थप सहज बनाउन सकिने अपेक्षा गरिएको छ।
यसको अर्थ तत्कालै डलरलाई विस्थापित गर्ने कुनै साझा मुद्रा निर्माण गर्नु भने होइन। बरु विभिन्न देशका आफ्नै मुद्रालाई प्रयोग गर्दै व्यापार र भुक्तानीको वैकल्पिक संरचना विकास गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।
नयाँ दिल्ली घोषणापत्रमा आतंकवादविरुद्ध साझा प्रतिबद्धता
ब्रिक्स राष्ट्रहरूले सम्मेलनका क्रममा ‘नयाँ दिल्ली घोषणापत्र’ पनि स्वीकृत गरेका छन्।
घोषणापत्रमा पहलगाममा भएको आतंककारी हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ। आतंककारी गतिविधिलाई आर्थिक सहयोग उपलब्ध गराउने तथा आतंककारीलाई सुरक्षित आश्रय दिनेहरूमाथि समेत कारबाहीको आवश्यकता औंल्याइएको छ।
पश्चिम एसिया लगायत विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा ब्रिक्स सदस्य राष्ट्रहरूका धारणा फरक देखिँदै आए पनि आतंकवादजस्ता विषयमा साझा धारणा सार्वजनिक हुनु महत्वपूर्ण मानिएको छ।
बदलिँदो विश्व अर्थव्यवस्थामा ब्रिक्सको भूमिका
ब्रिक्सले स्थानीय मुद्रामा कारोबार, डिजिटल भुक्तानी र वित्तीय सहकार्यलाई विस्तार गर्न खोज्नु विश्व अर्थव्यवस्थामा विकसित भइरहेको बहुध्रुवीय प्रवृत्तिसँग जोडिएको छ।
तर ब्रिक्सको आफ्नै साझा मुद्रा वा छुट्टै अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आइसकेको अवस्था छैन। त्यसैले अहिलेको प्रयासलाई अमेरिकी डलरको तत्काल विकल्प निर्माणभन्दा पनि सदस्य राष्ट्रबीच वैकल्पिक वित्तीय सहकार्यको आधार तयार गर्ने कदमका रूपमा बुझ्न सकिन्छ।
ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिन सदस्य राष्ट्रका नेताहरू तथा आमन्त्रित देशका प्रमुखहरूबीच विभिन्न अन्तर्राष्ट्रिय तथा आर्थिक विषयमा छलफल हुँदैछ। सम्मेलनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।




