उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल हुने

विराटपाटी संवाददाता काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् व्यवस्थापन तथा राहत–उद्धारका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका छन्।

लामिछानेको पहलमा बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय मुख्य रूपमा उठाइनेछ। त्यससँगै पछिल्लो समय देखिएका विपद्का घटनामा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि छलफल हुनेछ।

प्राकृतिक विपद्का घटनापछि उद्धार, राहत तथा पुनःस्थापनाका काममा राज्यका विभिन्न निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको अवस्थामा लामिछानेले दलहरूलाई एउटै छलफलमा ल्याउन खोजेका हुन्।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सहभागी गराउने तयारी छ। विपद् व्यवस्थापनलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन जोखिम न्यूनीकरण, पूर्वतयारी र राज्यको समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइएको छ।

पछिल्लो समय लगातार देखिएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाले सरकारी संयन्त्रको तयारी र अन्तरनिकाय समन्वयमाथि प्रश्न उठिरहेका बेला रास्वपा सभापतिको यो पहललाई राजनीतिक तहबाट साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।