तीन ठूला दलका शीर्ष नेता र सचेतकबीच संसदलाई प्रभावकारी बनाउन छलफल
२०८० बैशाख ३१, आईतवार १३:५७
संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर छलफल भएको हो ।
चलिरहेको संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन संसदीय उपसमिति गठन, सर्वसम्मतिका आधारमा संसदीय विषयगत समितिको नेतृत्व र प्रतिनिधित्वबारे निर्णय गर्ने र संसदीय सुनुवाइ समिति गठन गर्नेलगायत विषयमा पनि छलफल भएको थियो ।
‘आज धेरै सकारात्मक छलफल भएको छ, संसदको बजेट अधिवेशन चलिरहेको छ, संसदलाई प्रभावकारी बनाउन सौहार्दपूर्ण ढंगले अगाडि बढ्ने विषयमा छलफल भएको छ,’ प्रमुख सचेतक पाण्डेले भने ।
उनका अनुसार बैठकमा संसदीय विषयगत समितिहरू गठन हुन बाँकी रहेकाले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।
‘संसदीय सुनुवाइ समिति पनि बन्न सकेको छैन, सहमतिका आधारमा संसद्को काम कारबाही अगाडि बढाउने विषयमा हामी एक छौं र छिट्टै निष्कर्षमा पुग्छौं,’ उनले भने ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सहभागिता थियो । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमाले उपनेता सुवासचन्द्र नेम्वाङ पनि रहेका थिए ।




