भुटानी शरणार्थी घोटालामा संलग्न भएको आरोपमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई काठमाडौं जिल्ला अदालतले केही दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

झापाबाट काठमाडौं आउँदै गर्दा रिजाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले र मियाँलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सिंहदरबारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सीताराम रियालले जानकारी दिए

यसअघि प्रहरीले पूर्वमन्त्री र वर्तमान सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिएको थियो । यस घोटालामा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

यसअघि हिरासतमा रहेका सानु भण्डारीसँग आर्थिक लेनदेन भएको पाइएपछि रियाललाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीहरुको पुनर्वासका लागि पहल गरेका थिए । त्यसका आधारमा सरकारले कार्यदल गठन गरेको हो ।

अर्कोतर्फ हज कमिटीका अध्यक्ष मियाँमाथि गिरोहसँग मिलेर काम गरेको आरोप लागेको छ । उनले हज कमिटीले प्रयोग गर्न दिएको गाडी गिरोहले प्रयोग गरेको परिवारका सदस्यले बताए ।

घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसचिव (गृह मामिला) टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत १६ जनालाई पक्राउ गरिएको छ ।