प्रधानमन्त्री प्रचण्डले आज ‘महत्वपूर्ण’ द्विपक्षीय वार्ता गर्दै
२०८० जेष्ठ १८, बिहीबार ११:२९
भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘महत्वपूर्ण’ द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
आज बिहान प्रधानमन्त्रीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । उनले छिट्टै हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटपछि प्रधानमन्त्री दाहालले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बैठकपछि दुई देशबीचको आपसी हितमा केन्द्रित भएर प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि हुनेछ । छलफल हुने अन्य विषयमा ऊर्जा, विद्युत् व्यापार, वाणिज्य र हवाई प्रवेश मार्गलगायतका विषयमा आवश्यक सम्झौता हुने बताइएको छ ।
उनी आज भारतका प्रधानमन्त्रीले आफ्नो सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
उनले आज साँझ नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा हुने नेपाल भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारी नेताहरूसँग अन्तरक्रिया गर्नेछन् ।
प्रधानमन्त्रीले इन्दौरको भ्रमण गर्नुका साथै मध्य प्रदेशका गभर्नर मंगुभाई सी पटेलसँग भेट गर्ने कार्यक्रम छ । उनी असार ३ गते दिउँसो ४ः२० बजे स्वदेश फर्कने कार्यक्रम छ ।




