पहिचानको आन्दोलनलाई सम्बोधन गर्न कोशी सरकारले बनायो वार्ता टोली
२०८० जेष्ठ २४, बुधबार २०:२१
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा देखिएको विवाद समाधान गर्न वार्ता टोली गठन गरेको छ ।
गत फागुन १ गते प्रदेशको नाम कोशी राखेपछि जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्न माग गर्दै आएका जनताले आन्दोलन गरेका थिए ।
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आन्दोलनलाई हिंसात्मक नबनाएर समाधान खोज्न वार्तामा आउन आन्दोलनरत समुहलाई आग्रह गरेका छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार म्याङ्बोको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।




