नेपालका चार वाम दलले संविधानले परिकल्पना गरेको समाजवाद स्थापनालाई प्राथमिकता दिँदै समाजवादी मोर्चा नेपाल बनाउने निर्णय गरेका छन् ।

आइतबार बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको बैठकले मोर्चाको निर्णय गरेको हो ।

बैठकले सोमबार राजधानीमा मोर्चाको घोषणा गर्ने सहमति गरेको छ । मोर्चाको घोषणा कार्यक्रम गरी गर्ने भएको छ ।

बैठकपछि समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे छलफल गरी सहमति खोजेको जानकारी दिए ।

समाजवादी मोर्चा गठनका लागि लामो समयदेखि पहल भइरहेको छ । मुख्यतया नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मोर्चा गठनको गृहकार्य गरेका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द सहभागी थिए

मोर्चाले सोमबार आफ्नो न्यूनतम कार्यक्रम घोषणा गर्ने सम्भावना छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र भट्टराईले यस्तो मोर्चा बनाउने सहमति गरिसकेकाले नेता डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल पनि मोर्चामा सामेल हुने सम्भावना छ ।