प्रधानमन्त्री प्रचण्डले पहिरो प्रभावित पुर्वि पहाडकाे भ्रमण गरे
२०८० असार ४, सोमबार १६:३५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गर्न आज कोशी प्रदेशको जिल्ला संखुवासभा पुगेका छन् ।
अविरल वर्षाका कारण आएको प्राकृतिक प्रकोपका घटनामा जिल्लामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।
तुम्लिङटार विमानस्थलमा अवतरण गरेका सरकार प्रमुखलाई प्रमुख जिल्ला अधिकारीले विपद्पछि जिल्लामा भइरहेका उद्धार र राहतका कामका बारेमा जानकारी गराएका थिए ।
एक जनाको मृत्यु र १८ जना बेपत्ता भएकामा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले बेपत्ताहरुको खोजी कार्यलाई तिव्रता दिई प्रभावकारी उद्धार र राहत कार्य गर्न जिल्लाका सम्बन्धित निकायलाई निर्देशन दिए । उनले विपद्पछिको सरकारी उद्धार र राहतका काममा सहयोग गर्न सामाजिक संघसंस्थालाई आग्रह समेत गरे । उनले क्षतिग्रस्त सडक र यातायात पूर्वाधारको तत्काल पुनर्निर्माण र विपद्बाट घरबारविहीन भएकाहरूलाई बासको व्यवस्था गर्न आग्रह गरे।
भ्रमणका क्रममा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले पीडितका लागि अस्थायी र स्थायी पुनर्स्थापनाको व्यवस्था गर्ने आश्वासन पनि दिए।
उनीसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ; भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहरी विकास मन्त्री सीता गुरुङ सांसदहरु योगेश भट्टराई, बसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की छन् ।
टोलीमा प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका इन्जिनियर र प्रधानमन्त्री कार्यालयका अधिकारी समेत रहेका छन् । प्रधानमन्त्रीले आज बाढी र पहिरो प्रभावित जिल्ला ताप्लेजुङ र पाँचथरको भ्रमण गर्ने कार्यक्रम रहे पनि माैसमका कारणले गर्दा अनुकूलता भएन ।
आजै प्रधानमन्त्री सहितको टाेली विराटनगर एयरपोर्ट हुदै प्लेनवाट काठमाडौं फर्केका छन् ।




