अनुगमन टोलीमाथि इनरुवाका व्यापारीको दुर्व्यवहार
२०८० श्रावण ९, मंगलवार ०६:४१
हिजो इनरुवा वजार केही समय तनावग्रस्त भएको छ ।औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन्।
मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई दुई घण्टा बढी थुनेका हुन्।
गृहको पत्रअनुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए।
सो क्रममा अनुगमन टोलीउपर हातपातको प्रयास हुनुका साथै दुर्व्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नुपरेको थियो।
औषधि व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो। सोपश्चातसमेत व्यापारी समूहले बजार क्षेत्रमा प्रर्दशन जारी राखे।
उनीहरुले औषधि पसल बन्द गर्ने धम्कीसमेत दिएका छन्। प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीउपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए।
उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठीक नभएको प्रतिक्रिया दिए।




