प्रधानमन्त्री प्रचण्डले कुप्रथा अन्त्यका लागि सामूहिक प्रयासमा जोड
२०८० श्रावण १०, बुधबार ११:४८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिका लागि आफ्नो सरकारले नयाँ अभियान थालेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), इटाली च्याप्टरले रोममा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचार र कुप्रथाविरुद्ध सरकारले कडा कदम चालेको बताए ।
प्रधानमन्त्रीले आफ्नो सरकार गठनको सुरुदेखि नै विसंगति नियन्त्रण, शीघ्र सेवा प्रवाह सुनिश्चित गर्न र जनताको जीवनमा व्यापक परिवर्तन ल्याउने काम गरिरहेको बताए ।
राहदानी सङ्कलन र ड्राइभिङ लाइसेन्सका लागि जनताको लामो समयदेखिको समस्या अब समाप्त भएको छ र अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको छ,
प्रधानमन्त्रीले इटाली र युरोपमा रहेका नेपालीलाई वताएका छन् ।
हाल प्रधानमन्त्री प्रचण्ड इटालीको रोमस्थित एफएओको मुख्यालयमा हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन स्टकटेकिङ मोमेन्टमा सहभागी हुन इटालीमा रहेका छन् ।
‘सामाजिक सुरक्षा कोषमा धेरैभन्दा धेरै कामदार ल्याउने काम गरेका छौँ। साथै विदेशमा रहेका नेपाली कामदारलाई पनि कोषमा जोडिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
सरकारले समाजसेवा र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने गरी काम गरिरहेको उनले बताए ।




