उपराष्ट्रपति यादवले नेपाल–पाकिस्तान सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड
२०८० श्रावण १२, शुक्रबार ०९:१६
उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
उपराष्ट्रपतिको कार्यालयमा बिहीबार नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीसँगको भेटमा यादवले सार्कले त्यहाँका सदस्य राष्ट्र र जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि अघि बढ्नुपर्ने बताए ।
उपराष्ट्रपति यादवले सार्क अध्यक्षको हैसियतमा नेपालले सार्कको प्रगतिमा देखिएको गतिरोध अन्त्य गर्न सक्दो प्रयास गरिरहेको बताए । ‘यसका लागि सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्वपूर्ण छ,’ यादवले भनेका छन्
सो अवसरमा उपराष्ट्रपतिले वाणिज्य र आर्थिक विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदानप्रदान र जनताबीचको सम्बन्धमा सहकार्य गर्न सकिन्छ,’ उपराष्ट्रपतिले वताए
त्यस्तै उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिमा नेपालले पाकिस्तानबाट लगानीकर्तालाई प्रोत्साहन गरेको बताए ।
भेटमा यादवले हिन्दुकुश हिमालयन क्षेत्रमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको असरप्रति चिन्ता व्यक्त गरेका थिए । उनले यस क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताए ।




