नेपालमा बाघको सङ्ख्या बढाउन सफल
२०८० श्रावण १३, शनिबार ०९:१२
बाघकाे सन् २००९ मा १२१ रहेको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका छन्
दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्।
उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै व्यापक चर्चाको विषय बनेको थियो।
तर सङ्ख्या बढेसँगै बाघ र उनीहरूको वासस्थान रहेका स्थान आसपासमा बस्ने सर्वसाधारणबीच द्वन्द्व पनि चर्किँदैँ गएको घटनाहरू प्रकाशमा आउने गरेका छन् जसको प्रत्यक्ष प्रभाव स्थानीय समुदायमा परेको छ।
अधिकारीहरूका अनुसार पछिल्लो गणना पश्चात् वैज्ञानिक रूपमा मूल्याङ्कन नगरिएको भए पनि अप्रत्यक्ष सूचकहरूले सङ्ख्या बढ्दो क्रममा नै रहेको देखाएका छन्।
विज्ञहरू पनि पछिल्ला वर्षहरूको अवस्था र सँगसँगै मृत्युदरलाई नियाल्दा ५० देखि ६० को हाराहारीमा पछिल्लो एक वर्षमा बाघको सङ्ख्या बढेको हुनसक्ने अनुमान गर्न सकिने बताउँछन्।
त्यसका कारण आगामी दिनहरूमा बाघ र स्थानीयवासीबीच सन्तुलन कायम गर्नु नै मुख्य चुनौती हुने जानकारहरूको बुझाइ छ।
अधिकारीहरूका अनुसार नेपालमा आर्थिक वर्ष २०७८-७९ मा बाघको आक्रमणबाट २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९-८० मा त्यो सङ्ख्या १२ थियो।
चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ।




