सामान्यतया आफूले अधिकांश समय बिताउने स्थानमा प्रदूषण गर्ने कैयौँ तत्त्व घुमिरहेका छन् भन्ने कुरा धेरै मानिसले बुझेका हुँदैनन्।

उदाहरणका लागि हामीले हाम्रो घर, विद्यालय र कार्यस्थलहरू सफा र स्वच्छ बनाउन प्रयोग गर्ने धेरै उत्पादनहरूले हावा विषाक्त बनाइरहेका हुन्छन्।

‘‘ताजा तथा स्वच्छ हावाको गन्ध हुँदैन,’’ युनिभर्सिटी अफ एल्बर्टास्थित पेडियाट्रिक पल्मोनरी विशेषज्ञ एन हिक्सले भनिन्।

‘‘यदि तपाईँले गन्ध सुँघ्न सक्नुहुन्छ भने हावामा केही न केही रसायन छ र त्यो तपाईँको नाकसम्म पुगिरहेको छ। त्यसैले यो सबै वायु प्रदूषण हो। चाहे त्यसबाट सुगन्ध आओस् वा दुर्गन्ध हाेस्

घरहरूमा भित्री वायु प्रदूषणको तह व्यापक छ र यो तुलनात्मक रूपमा कम जानकारी बाहिरिएको क्षेत्र हो, किनभने मेरो छिमेकीको घरमा मेरो घर भन्दा फरक वायु प्रदूषणको स्तर हुन सक्छ,” डा हिक्स भन्छिन्।

घर वा कार्यालय भित्र हुने प्रदूषण सम्बन्धी विषय अत्यन्त जटिल छ र यसको नियमन पनि फितलो छ। यस्तो प्रदूषण अक्सर व्यक्तिगत नियन्त्रण भन्दा बाहिर हुन्छ। उदाहरणका लागि सवारीसाधनहरूले नाइट्रोजन डाइअक्साइड उत्पन्न गर्छन् भने आर्द्रता र संरचनात्मक समस्याहरूले भवनहरूलाई बिगार गर्न सक्छन्।

उच्च क्षमता भएका हाइ एफिसिएन्सी पार्टिकुलेट एअर (हेपा) फिल्टरहरू भएका ‘एयर प्युरिफायर’ हरूले भने मद्दत गर्न सक्छन्।

तर सुरुवाती लागत अनि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने ऊर्जा भने केही घरपरिवारको पहुँच भन्दा बाहिर जान सक्छ।

सस्तो पर्ने हुँदा पनि हावा सफा गर्नका लागि गमलामा रोप्न सकिने बिरुवाबारे सोच्नु आकर्षक मानिन्छ।

बोट बिरुवाहरूले कार्बन डाइअक्साइड र अन्य प्रदूषण ग्रहण गर्छन् जुन केही हदसम्म बिरुवाहरूले खपत गर्छन् र बाँकी निष्क्रिय पारि दिन्छन्।

यहाँ विशेष गरी महत्त्वपूर्ण सूक्ष्म जीवहरूको समुदाय र बिरूवा उमार्ने माध्यम (जस्तै माटो वा कम्पोस्ट) हो, जसले धेरै अध्ययनहरूका अनुसार बिरुवाले भन्दा बढी प्रदूषकहरू सोस्छन्।