सुशासन सुनिश्चित गर्ने बेला आएको छ : नेता डा कोइराला
२०८० श्रावण १६, मंगलवार ०९:४०
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार यहाँ आयोजित नेतृत्व विकास तथा अभिमुखीकरण कार्यक्रममा उहाँले दण्डहीनताको अवस्थाले मुलुकको विकासमा प्रतिकूल असर पार्छ, त्यसैले सुशासन अपरिहार्य रहेको बताउनुभयो ।
नेता डा कोइरालाले देशको भविष्य निर्धारण गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले देशमा चलिरहेको घडीबारे सचेत हुन आग्रह गर्नुभयो । विकासका कामलाई तीव्रता दिन राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेविसंघका नेताहरुले पार्टीको भातृ संगठन सक्षम भएपछि सिंगो पार्टीलाई बलियो बनाउन सक्ने धारणा राखे ।
कार्यक्रम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला समितिले आयोजना गरेको सचिव गुड्डु साहले जानकारी दिए ।




