सरकार सुशासन र सामाजिक न्यायमा केन्द्रित छ : प्रधानमन्त्री
२०८० भाद्र १२, मंगलवार १४:५१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम सुशासन, समृद्धि र सामाजिक न्यायको स्थापना र प्रवर्द्धनमा केन्द्रित रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको पहुँच अभिवृद्धि गर्न र विकासका कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताए ।
दिगो र समावेशी आर्थिक बृद्धि सरकारको उच्च प्राथमिकतामा रहेको र त्यसैमा केन्द्रित रहेको भन्दै प्रधानमन्त्रीले सरकारका कदमले अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सफल भएको दाबी गरे ।
अर्थतन्त्रमा सकारात्मक सूचकहरू देखिएको उनले बताए । केन्द्रीय बैंकले सोमबार मात्र हालको पुँजी कर्जा निर्देशिका परिमार्जन गरेपछि यसले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
उनले आफ्नो आगामी चीन भ्रमण द्विपक्षीय सहयोगलाई थप प्रवद्र्धन गर्ने, आर्थिक सम्बन्धलाई मजबुत बनाउने र दुई छिमेकीबीच नयाँ पारवहन खोल्ने सन्दर्भमा महत्वपूर्ण हुने बताए ।
अर्को प्रश्नमा उनले सुदूरपश्चिम प्रदेशको राजधानी विस्तार र विकासका सम्बन्धमा सरोकारवालासँग छलफल गरेर निर्णय गरिने बताउँदै राष्ट्रको गौरवका आयोजनालाई तीव्रता दिन सरकारले आफ्नो संयन्त्रलाई पूर्ण रुपमा परिचालन गरेको बताए ।




