भैरहवाबाट दिल्ली र हङकङ उडान
२०८० भाद्र १२, मंगलवार १५:१०
नेपाल वायुसेवा निगमले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट नयाँ दिल्ली र हङकङ हवाई उडान सुरुवात गर्याे ।
भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरुवात गरेको हो । नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको जनाइएको छ । हङकङ जाने यात्रुलाई काठमाडौंँ हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।
उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो ।नेपाल वायुसेवा निगमले मलेसिया – भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ ।




