नेपालकै सबैभन्दा ‘लक्जरियस’ होटल मानिएको ‘सिन्तामणी मुस्ताङ’ सञ्चालनमा आएको छ। नेपालमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा महँगो होटलका रूपमा सिन्तामणी रहेको यसका सञ्चालकको दाबी छ।

सिन्तामणि विश्वबजारमा जंगलबीच महँगा होटल सञ्चालन गरेर ख्याति कमाएको अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ हो। यती वर्ल्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ जोमसोममा १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको उक्त होटल व्यवस्थापन सिन्तामणीले सुरु गरेको हो। यो ब्रान्डले खर्चालु पर्यटक लक्ष्य गरी निर्माण गरिएका होटल तथा रिसोर्ट व्यवस्थापन सम्हाल्दै आएको छ।

शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नाम्गेल शेर्पाले सिन्तामणी मुस्ताङले पर्यटकलाई प्रकृतिसँग नजिक राखेर बिदा मनाउने उत्कृष्ट गन्तव्यका रूपमा आभाष गराउने उद्देश्य राखिएको बताए।