आज श्रावण शुक्ल पूर्णिमाकाे अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।

ऊँ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः |

यो माथिको मन्त्रोच्चारण गर्दै जनै फेर्नुपर्छ|

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः|
तेन त्वं प्रतिबध्नामि रक्ष मा चल मा चल |

पुरोहितद्वारा यो माथिको मन्त्र वाचन गर्दै रक्षा बन्धन (डोरो) हातमा बाँधिन्छ|

सामुहिक स्नान गर्ने परम्परालाई निरन्तरता दिदै नदि ,खाेला र धार्मिक स्थलमा भई धार्मिक विधि विधान अनुरूप जनै र डाेराे हातमा बाँधिने चलन रहेको छ ।

आजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।

रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।

विभिन्न गेडागुडी सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।

यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ