चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान चीनको तिब्बतस्थित मानसरोवरबाट छेन्दु प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय समयानुसार बिहान ९ः४५ मा मानसरोवरस्थित नगरीगुन्सा विमानस्थलबाट ल्हासा विमानस्थलको उडान भर्ने र त्यसपछि ल्हासाबाट छेन्दु जाने कार्यक्रम छ । प्रधानमन्त्री आज दिउँसो स्थानीय समयअनुसार १४ः३० बजे चेङ्दु पुग्नेछन् ।

   चेङ्दुमा प्रधानमन्त्रीले पाण्डा प्रजनन केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ । आज साँझ प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिचुवान प्रान्त समितिका सचिव वाङ सियाओहुईसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

  प्रधानमन्त्री दाहालको सम्मानमा सचिव वाङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

   प्रधानमन्त्री प्रचण्डले ल्हासामा विभिन्न नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै ल्हासाको पोतला दरबार र अन्य स्थलहरुको पनि भ्रमण गरेका थिए ।

 प्रधानमन्त्री छेन्दुबाट शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।