एक करोड रुपैयाँभन्दा बढीको कारोबार

ईलाम, लक्ष्मीपुर , पक्की घर, विद्यालय पढ्दै गरेका छोराछोरी, अनि बिहान बेलुकाको खाना टन्नै — यी सबै सपनाजस्तै थिए। तर आज लक्ष्मीपुरका किसानहरूको जीवनशैली नै फेरिएको छ — स्कुसको मुण्टाबाट।

स्कुस, जुन पहिला केवल घरको भान्सामा सीमित थियो, अहिले लक्ष्मीपुरको अर्थतन्त्रको मेरुदण्ड बनेको छ। एकै सिजनमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार — त्यो पनि केवल मुण्टा (टुप्पा) बाट 

 बजारमा मुठाको मूल्य, जीवनमा मूल्यको अनुभूति

यहाँका किसानहरू बिहान सबेरै खेततिर लाग्छन्। बिहानै टिपिएका स्कुसका मुण्टा झापा, काकडभिट्टा हुँदै भारतसम्म पुग्छन्। प्रति मुठा १५–३० रुपैयाँ, दैनिक ३,००० मुठा भन्दा बढी बिक्री वितरण हुन्छ ।

शिव राईजस्ता किसान भन्छन्, “पहिलेको तुलनामा धेरै परिवर्तन आयो, खेतमै पसिना बगाएर घर चलाउँदा गर्व लाग्छ।” अहिले स्कुस खेती उनीहरूका लागि केवल आम्दानी होइन, गर्वको स्रोत बनेको छ।

सबै कुरा सजिलो छैन। स्कुस भारत पठाउने क्रममा कस्टम क्लियरेन्सको झन्झट अझै बाँकी छ। प्लान्ट क्वारेन्टाइनको सहजीकरण भए पनि, व्यावहारिक तहमा सरकारी ध्यानको खाँचो अझै गम्भीर रूपमा अनुभूत भइरहेको छ।

कृषक हेमकुमारी सुवेदीको घरमा अहिले सोलार लाइट बल्छ। उनको छोरी निजी विद्यालयमा पढ्दैछ। “तरकारी बेचेरै छोरीलाई डाक्टर बनाउने सपना देखिरहेकी छु,” उनी मुस्कुराउँछिन्।

लक्ष्मीपुरमा स्कुसको मुण्टा केवल तरकारी होइन, रोजगार, समृद्धि र सम्भावनाको बोट हो। यस्ता कथा राज्यले सुन्न जरुरी छ — ताकि कृषि केवल भाषणको विषय होइन, नीतिगत प्राथमिकता बनोस्।