असार १५: खेत, घाम र एक थाल दही–चिउराको स्वाद

असार १५ को चर्चा सुरु भएसँगै सामाजिक सञ्जालदेखि गाउँको चोकसम्म एउटै कुरा गुञ्जिन्छ “आज दही–चिउरा खायौ?”
बर्षाले भिजेको खेत, हिलोले भरिएको गोरेटो र रोपाइँको गीतबीच असार १५ को उल्लास झनै झल्किन्छ । यही दिन किसान खेतमा पस्नुअघि वा रोपाइँको बीचमा दही–चिउरा खाएर उर्जा लिन्छन् ।
तर, यो चलन केवल परम्परा मात्र होइन, विज्ञान पनि लुकेको छ भन्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । उहाँका अनुसार दही–चिउरा स्वादिलो, छिटो तयार हुने मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त लाभदायक छ ।
“दहीमा पाचनमा सहयोग गर्ने ‘ल्याक्टोब्यासिलस’ ब्याक्टेरिया हुन्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ,” उहाँ भन्छिन्, “त्यहीकारण पनि गर्मी मौसम, कामको चाप र घाममा श्रम गर्दा दही–चिउरा निकै उपयोगी हुन्छ ।”
चिउरा कार्बोहाइड्रेटको भरपूर स्रोत हो, जसले शरीरलाई तुरुन्तै उर्जा दिन्छ । त्यसमा मिसिने दहीले प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिनहरू प्रदान गर्छ ।
डाक्टर उप्रेती भन्छिन्, “दही–चिउरा केवल स्वादको विषय होइन, स्वास्थ्यको पनि रक्षा गर्ने परिकार हो । पखाला लाग्दा पनि दही उपयोगी मानिन्छ ।”
खासगरी खेतालाहरूले असार १५ मा यो खाने चलन बढाएका थिए, किनभने यसलाई पकाउनु पर्दैन, झन्झट छैन, चाँडै तयार हुन्छ । तर आजकाल शहरमा पनि यो चलन व्यापक बनेको छ — न केवल परम्परा पालन गर्ने बहानामा, तर पोषणका हिसाबले पनि ।
बजारमा दही चिउरा अचार, तरकारी, भटमास, केराउ, गोलभेंडा, भुजिया आदि मिसाएर खाने ट्रेन्ड चलिरहेको छ ।
सामान्यतया ‘फास्ट फुड’को दुनियाँमा परम्परागत खाना बिर्सिँदै गर्दा, दही चिउराले भने फेरि एकपटक हाम्रो थालमा आफ्नै स्थान बनाएको छ ।
असार १५ को यो थाल केवल खानाको हो होइन यो श्रमको सम्मान हो, प्रकृतिको चक्रसँगको सामञ्जस्य हो, र स्वस्थ जीवनशैलीतर्फको संकेत हो ।