काठमाडौं भाद्र १७ । पछिल्लो वर्ष नेपालका हिमाल तथा पिक आरोहण गर्नेको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन विभागका तथ्याङ्कअनुसार २३ वटा हिमाल र पिकमा सफल आरोहण भएको छ । 

यस क्रममा ६७८ पुरुष र १९१ महिला गरी ८६९ आरोहीले नेपालका हिमालको चुचुरोमा पाइला टेकेका छन् । यसबाट मात्र सरकारले रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै राजस्व विश्वकै सर्वोच्च सगरमाथाबाट आएको हो । ३७४ आरोही (३०२ पुरुष र ७२ महिला) सफल शिखरारोहण गर्दै ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको विभागले जनाएको छ । यस्तै, मकालु हिमालमा ६६ आरोहीले सफल आरोहण गर्दा १ करोड ६२ लाख ६९ हजार ४८० राजस्व संकलन भएको छ भने कञ्चनजङ्घाबाट ४१ आरोहीले शिखर टेक्दै करिब १ करोड ९७ लाखभन्दा बढी राजस्व पुगेको छ ।

तर, हिमाल आरोहणको यो सफलता र चहलपहलसँगै जलवायु संकटको गम्भीर छाया बढ्दै गएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र अन्य वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रमा हिमरेखा तीव्र गतिमा सर्दै गएको चेतावनी दिएका छन् ।

इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको स्टेटस अफ ग्लेसियर्स प्रतिवेदनअनुसार कञ्चनजङ्घा क्षेत्रमा मात्र हरेक वर्ष औसत ६.५ मिटरले हिमरेखा माथि सरेको छ । त्यहाँका हिमताल पनि तीव्र गतिमा बढ्दैछन्—१५ वर्षअघि २७ मात्र रहेका हिमताल हाल ४९ पुगेका छन् ।

त्यसैगरी, २०२२ को हिमालयन वाटर सिक्युरिटी प्रतिवेदनले नेपालमा प्रतिदशक औसत तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले बढ्दै गएको तथ्य उजागर गरेको छ । यसले हिमनदीहरू तीव्र गतिमा पग्लन थालेका छन्, जसको असर खेतीपाती, पशुपालन, खानेपानी, जैविक विविधता र दीर्घकालीन खाद्य सुरक्षामाथि गम्भीर देखिएको छ ।

नेपालका हिमालहरू—सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१—८ हजार मिटरभन्दा अग्ला विश्वका उत्कृष्ट पर्वत शृङ्खलामा पर्दछन् । तर यिनै हिमालहरू अहिले जलवायु परिवर्तनका कारण नाङ्गिँदै जाने खतरामा छन् ।

विशेषज्ञहरूको भनाइमा अहिलेबाटै तत्काल प्रभावकारी जलवायु अनुकूलन रणनीति नअपनाए आगामी दशकहरूमा हिमाली भू–परिसंस्था मात्र होइन, जलस्रोत, कृषि र मानव जीवन नै संकटमा पर्ने सम्भावना उच्च छ ।