काठमाडौं भाद्र २३, बिहानैबाट बागमती किनार गोकर्णेश्वर मन्दिर परिसरमा असामान्य भीड थियो। हातमा दूबो, फूल र पिठार लिएर आएका परिवारहरू दिवङ्गत पितृको आत्मशान्ति र मोक्षको कामनासहित पिण्डदान गर्दै थिए। यसरी सुरु भएको सोह्र श्राद्ध (पितृ पक्ष) केवल धार्मिक विधि मात्र होइन, नेपाली समाजको संस्कार, आस्था र कृतज्ञताको साझा उत्सव पनि हो।

हिन्दू परम्पराअनुसार हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने श्राद्ध पक्षलाई पितृहरूको सम्झना र सम्मान गर्ने विशेष समयका रूपमा लिइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने धार्मिक विधान छ।

किन गर्ने श्राद्ध ?

धर्मशास्त्रका व्याख्याकारहरू भन्छन्– “श्राद्ध भनेको पितृ ऋण चुकाउने बाटो हो।”यसले दिवङ्गत आत्मालाई शान्ति र मोक्ष दिन्छ भन्ने विश्वास छ।वंशजलाई दीर्घायु, स्वास्थ्य र सम्पन्नता प्रदान गर्ने भनाइ छ।पुस्तान्तरणमार्फत संस्कारलाई निरन्तरता दिने अवसर पनि श्राद्धमै निहित छ।

श्राद्ध सुरु भएसँगै उपत्यकाका प्रमुख घाटहरूमा भक्तजनको भीड बढेको छ। गोकर्णेश्वर, विष्णुमती, त्रिवेणी, पशुपतिनाथ परिसरदेखि लेकर गाउँघरका खोलानाला, तलाउसम्म आज श्राद्ध गर्नेहरूको उपस्थितिले धार्मिक वातावरण सजीव बनेको छ। कतिपयले पण्डित बोलाएर घरमै विधिपूर्वक श्राद्ध गरेका छन्।

श्राद्ध केवल विधि मात्र नभई परिवारलाई एकत्रित गर्ने अवसर पनि हो। यस अवधिमा टाढा–टाढाबाट पनि परिवारजन भेला भई पितृ सम्झन्छन्, भोजन बाँड्छन् र संस्कारलाई निरन्तरता दिन्छन्। यसले समाजमा साझा भावनाको जग बलियो बनाउने धर्मशास्त्रविद्हरूको भनाइ छ।

आज सुरु भएको यो धार्मिक पक्ष आगामी सोह्र दिनसम्म निरन्तर चल्नेछ। अष्टमी, एकादशी र औंसी तिथिलाई विशेष महत्व दिइन्छ। शास्त्रीय विश्वासअनुसार पितृ पक्षमा गरिएको एक दिनको श्राद्धले वर्षभरको दान–पुण्यभन्दा बढी फल दिने उल्लेख छ।

यसरी, सोह्र श्राद्ध नेपाली समाजमा पूर्वज स्मरण, संस्कारको निरन्तरता र कृतज्ञताको पर्वका रूपमा जीवित परम्परा बनेको छ।