बलिका विषयमा दसैँका वेला कुरा उठाइएको देखिन्छ। ‘काम क्रोध लोभ इत्यादि दुर्गुणको पो बलि दिने हो, पशुको पनि बलि दिने हो र ? शास्त्रमा पशुको बलि दिने कुरा कतै पनि छैन’ इत्यादि भनेर कसै–कसैले पशुबलिको विरोध गरेको देखिन्छ। फेरि कोहीकोही बलिलाई ‘हिन्दूधर्मको विकृति’ भन्न समेत पछि पर्दैनन्। 

विद्वान् ठानिएका कतिपय व्यक्तिले समेत यस विषयमा बहकिएर अशास्त्रीय कुरा बोल्ने गरेको पनि देखिन्छ। तसर्थ बलिका विषयमा यहाँ केही विवेचना गरिन्छ।

हिन्दूधर्म भनेको वैदिक–सनातन–वर्णाश्रम–धर्मको नै लौकिक व्यावहारिक नाम हो। त्यसमा पनि वेदको र मूल वैदिक–सनातन–वर्णाश्रम–धर्मको विरोध नगर्ने र कुनै न कुनै रूपमा वेदमूलक देखिने विभिन्न पन्थ पनि लोकमा हिन्दूधर्मभित्रकै मानिन्छन्। तसर्थ हिन्दूधर्मभित्र विभिन्न प्रकारका अनुष्ठान र उपासना पर्छन्।

हिंसा र अहिंसाको विवेचना पनि सूक्ष्म ढंगले गर्न आवश्यक छ। स्थूल हिंसालार्ई मात्र हिंसा देख्ने सूक्ष्म हिंसालार्ई हिंसा नै नदेख्ने अवैज्ञानिक दृष्टि हटाउनुपर्छ। यस्ता विषयमा पढेलेखेका मान्छेले विचार गरेर विवेकपूर्ण कुरा मात्र लेख्न–बोल्न पर्छ।

वैदिकहरूका शाश्वत प्रकृतिका गम्भीर तत्त्वदर्शनका आधारमा चल्ने यज्ञहरू छन्। वेदमा हविर्यज्ञ, पशुयज्ञ र सोमयज्ञहरूको विधान पाइन्छ। मन्त्रसंहिता, ब्राह्मणग्रन्थ र श्रौतसूत्रहरूको अध्ययन गरेका व्यक्तिले यो कुरा बुझेकै हुन्छन्। यज्ञमा संज्ञपन गरिएको अर्थात् विधिपूर्वक प्राणवियोजन गरिएको पशु पशुयोनिबाट मुक्त भएर देवताको नजिक पुग्छ भनेर शुक्लयजुर्वेदमा भनिएको छ

न वा उ एतन् म्रियसे न रिष्यसिदेवाँ इदेषि पथिभिः सुगेभिः।यत्राऽऽसते सुकृतो यत्र ते ययुस्तत्र त्वा देवः सविता दधातु।।२३।१६।।

अर्थात्— हे अश्व, तिमी मर्दा पनि मर्दैनौ र नष्ट पनि हुँदैनौ। तिमी देवताहरूका श्रेष्ठ मार्गबाट देवता भएका ठाउँमा पुग्छौ। जुन लोकमा पुण्यात्माहरू गएका छन् र जुन लोकमा पुण्यकर्ता बस्दछन्, त्यस लोकमा सविता देवताले तिमीलाई राखून्।

यस मन्त्रबाट यज्ञमा मारिएको पशु पशुयोनिबाट मुक्त हुन्छ भन्ने बुझिन्छ। नेपालीहरूका कुलदेवताका पूजामा पनि बलि दिने परम्परा छ। तसर्थ वेदमा बताइएको सिद्धान्तको विरुद्ध गएर मनलाग्दि तर्क गर्नुको वैदिक धर्ममा कुनै स्थान छैन। वेदकै भनाइलाई पुष्टि गर्न मनुस्मृतिमा पनि यस विषयको व्याख्या गरिएको छ—

यज्ञार्थं पशवः सृष्टाःस्वयमेव स्वयम्भुवा।यज्ञश्च भूत्यै सर्वस्यतस्माद् यज्ञे वधोऽवधः।।५।३९।।

अर्थात्— स्वयम् ब्रह्माजीद्वारा नै यज्ञका लागि पशुहरूको सृष्टि गरिएको हो। यज्ञचाहिँ सम्पूर्ण जगत्को कल्याणका निम्ति हो। त्यसै कारणले यज्ञमा गरिने पशुको हिंसा अहिंसा नै हो।

ओषध्यः पशवो वृक्षास्तिर्यञ्चः पक्षिणस्तथा।यज्ञार्थं निधनं प्राप्ताःप्राप्नुवन्त्युच्छ्रितीः पुनः।।५।४०।।

अर्थात्— ओषधि, पशु, वृक्ष, तिर्यक् जीव र पक्षी पनि यज्ञका निम्ति मरेका खण्डमा फेरि उन्नति गर्छन् अर्थात् उत्कृष्ट योनिमा उत्पन्न हुन्छन्।

आफू भने खसी काटेर वा किनेर ल्याएर वा अरू कुनै प्रकारले मनपरि अवैध मासु खाने र त्यसरी देउपितृलाई अर्पण नगरीकन आफूले मात्र मासु खाने कार्यलाई उचित पनि मान्ने तथा शास्त्रअनुसार कुलपरम्पराले प्राप्त देवतालाई बलि दिने कार्यको भने विरोध गर्ने व्यक्तिहरू नास्तिक तथा अविवेकी हुन् भन्ने बुझ्नुपर्छ। देवीभागवतमा पनि मासु खाने व्यक्तिहरूले देवीलाई राँगो, बोको वा बदेलको बलि दिनुपर्ने कुरा र देवीका अगाडि बलि दिइएका पशु स्वर्ग जाने भएकाले बलि दिँदा हिंसाको दोष नलाग्ने कुरा बताइएको छ

मांसाशनं ये कुर्वन्तितैः कार्यं पशुहिंसनम्।महिषा–ऽज–वराहाणांबलिदानं विशिष्यते।।

देव्यग्रे निहता यान्तिपशवः स्वर्गमव्ययम्।न हिंसा पशुजा तत्रनिघ्नतां तत्कृतेऽनघ।।—देवीभागवत ३।२६।३२–३३।

वैदिकका यज्ञहरूभन्दा वैष्णवका मूर्तिपूजा–उपासनाहरू भिन्नै प्रकारका छन्। शैव–पाशुपतादिका लिंगपूजा, श्मशानसेवन आदि आफ्नै प्रकारका छन्। शाक्तहरूका पनि दक्षिणमार्ग, वाममार्ग इत्यादिका आ–आफ्नै आचरण, अनुष्ठान र उपासना छन्। तिनका आ–आफ्ना शास्त्र र ग्रन्थ पनि छन्। देवीका र भैरवका मन्दिर मुख्यतया शाक्त पन्थका हुन्। त्यहाँ तिनले आफ्नै मार्गअनुसार कर्म गर्छन्। त्यसमा सामान्य अवस्थामा अरू मार्गका व्यक्तिले टिप्पणी गरेर हस्तक्षेप गर्नु उचित पनि हुँदैन। हाम्रा परम्परामा त विभिन्न मार्ग स्वीकृत छन्—

त्रयी साङ्ख्यं योगःपशुपतिमतं वैष्णवमिति,प्रभिन्ने प्रस्थानेपरमिदमदः पथ्यमिति च।रुचीनां वैचित्र्या–दृजुकुटिलनानापथजुषान्,नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव।।—शिवमहिम्नः स्तोत्रम्, श्लो.७

यस्तो भनेर सबै सम्प्रदायका व्यक्तिलाई आ–आफ्ना रुचिका सोझा वा बाङ्गा, सजिला वा अप्ठेरा मार्गबाट (पद्धतिबाट) ईश्वरको पूजा–आराधना गर्ने छुट दिइँदै आएको छ। कसैलार्ई देवीका वा भैरवका मन्दिरमा चल्ने अनुष्ठान मन पर्दैन भने ऊ विष्णुमन्दिरमा वा शिवमन्दिरमा वा ब्राह्मणगृहमा वा गुरुकुलमा वा तपोवनमा वा नदीतीरमा वा पर्वतशिखरमा वा अन्यत्र जान सक्छ। 

एक प्रकारका पन्थका अनुयायीलाई अर्को प्रकारका पन्थको अनुष्ठान विकृतिजस्तो लाग्न पनि सक्छ। त्यत्तिकैमा एक पन्थका अनुयायीले अर्को पन्थको अनुष्ठानलार्ई विकृति भनेर परस्पर विरोध चर्काउनु उचित देखिँदैन।

देवदेवीलाई बलि दिने र तिनको मासु खाने कुरा पनि त्यस्तै हो। हिंसा र अहिंसाको विवेचना पनि सूक्ष्म ढंगले गर्न आवश्यक छ। स्थूल हिंसालार्ई मात्र हिंसा देख्ने सूक्ष्म हिंसालार्ई हिंसा नै नदेख्ने अवैज्ञानिक दृष्टि हटाउनुपर्छ। यस्ता विषयमा पढेलेखेका मान्छेले विचार गरेर विवेकपूर्ण कुरा मात्र लेख्न–बोल्न पर्छ ।

(लेखक प्रा डा आमोद कौडन्यायन हुन )