विराटनगर, कात्तिक ४ मंगलबार ,तराईका थारू बस्तीहरूमा अहिले मिठा सुगन्ध फैलिएका छन् — चामलको बाफमा पाकेको ‘बगिया’को सुगन्ध। हिन्दू धर्मावलम्बीहरूले तिहार धुमधामले मनाइरहँदा थारू समुदायले भने यो पर्वलाई ‘शुकराइ वा सुख राइत’ — अर्थात् सुखको रात — भनेर आफ्नो मौलिक शैलीमा मनाउँदै छन्।

धनकी देवी लक्ष्मीलाई ‘हुक्के–हुक्का’ खेल्दै घरमा भित्र्याएपछि, भोलिपल्ट बिहानैदेखि उनीहरू चामलको पीठोबाट बगिया बनाउने चलन आज पनि जीवित छ।

थारू समुदायको हरेक घरमा आज बगिया पाकेको देख्न सकिन्छ।
पूर्वी थारूहरूले यसलाई बगिया भन्छन् भने पश्चिमी थारूहरू ढिक्री भनेर चिन्छन्।
चामलको पीठोबाट विभिन्न आकारमा कलात्मक रूपमा तयार पारिने यो परिकार केवल खानाको वस्तु होइन, थारू सभ्यताको पहिचान हो।

थारू  खवास चाैधरीका स्थानीय नेता लाेकनाथ चाैधरीले 

“बगिया हरायो भने थारू सभ्यता पनि हराउँछ। यो हाम्रो मौलिकता हो।”

उनीका अनुसार बगियाको सुरुवात त्यही समयदेखि भएको हो, जब तराईमा खेती–किसानी केवल थारू समुदायले गर्थे र धानलाई सुनको प्रतीक मानिन्थ्यो।

बगिया शब्दको अर्थ नै बाफमा पाकेको खानेकुरा हो।
पहिले थारूहरू माटोको भाँडो — अट्नी — मा पानीको बाफमा यसलाई उसिन्थे।
चौधरीका शब्दमा, “त्योबेला पित्तल वा स्टीलको भाँडो थिएन, माटोको अट्नी नै हाम्रो किचनको गौरव थियो।”

थारू बस्तीहरूमा अहिले पनि दुई किसिमका बगिया प्रचलित छन् —
पानीमा उसाएको पाइन बगिया र दाल मिसाएर बनाइएको दाइल बगिया
धेरैजसो परिवारमा मुङ वा मसुर दालको मिश्रण प्रयोग हुने गर्छ।

थारू समाजमा तिहारको अर्को आकर्षक परिकार हो खजन चिरै
साना, चञ्चल चराको आकारमा बनाइने यो परिकार बालबालिकाका लागि तयार पारिन्छ।
संस्कृतिविद् चौधरी भन्छन्, “खजन चिरै बालबालिकाको चञ्चलता र जिज्ञासाको प्रतीक हो।”

थारू लोकगीतमा यसको उल्लेख यसरी पाइन्छ —

“खजन चरा, खजन चरा, मामा मारलकै, माइजू रानहलकै…”

थारू समाजमा धान भण्डारणका लागि प्रयोग हुने बाँसको गोलो पात्रो बखारीलाई उनीहरूले आफ्नो परिकारमा पनि उतारेका छन्।
सुखको दिन ‘शुकराइत’मा त्यसकै प्रतीकस्वरूप सखारी–बखारी बनाउने चलन अहिले पनि कायम छ।
यो परिकार समृद्धि र सन्तुलनको प्रतीक मानिन्छ।

तिहारमा देऊसी खेल्न आउने समूहलाई थारू समुदायले पैसा होइन, बगिया नै दक्षिणा र आशीर्वादका रूपमा दिने प्रचलन छ।

“त्यो बेला पैसाको चलन थिएन। बगिया नै दक्षिणा थियो,”
चौधरी सम्झिन्छन्।

बगियासँगै माछा–मासु र सितुवा परिकार दिइन्थ्यो। विश्वास थियो — यो खाए दीर्घायु प्राप्त हुन्छ।

बगिया तेलरहित, मसालारहित र बाफमा पाक्ने भएकाले स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक छ।
संस्कृतिविद् चौधरी भन्छन्,

“हाम्रा पुर्खा सय वर्षभन्दा बढी बाँचे। कारण — बाफमा पाकेको प्राकृतिक खाना।”

चामल र पानीको संयोजनले बनेको यो परिकारले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई स्फूर्त बनाउँछ।

तर, अहिले शहरमुखी जीवनशैलीले यो परम्परा हराउँदै गएको चौधरीको चिन्ता छ।

“अब युवापुस्ताले बगिया मात्र होइन, आफ्नै संस्कृतिलाई जोगाउन अग्रसर हुनुपर्छ,”
उनी भन्छन्।

उनले थारू समुदायले बगिया महोत्सव, सांस्कृतिक गोष्ठी र अनुसन्धानमार्फत यो परम्परालाई विश्वभर चिनाउनुपर्ने सुझाव दिएका छन्।

तराईको हरेक घरमा बाफमा पाकेको बगिया थारू सभ्यताको सुगन्ध हो।
यो केवल परिकार होइन — पहिचान, इतिहास र जीवन दर्शन हो।
थारू महिलाको कलात्मक हात र पुर्खाको सीपले बनेको यो स्वाद नै थारू संस्कृतिको साँचो गहना हो।