महोत्तरी कार्तिक ६ बिहीबार , तराई–मधेसका गाउँदेखि सहरसम्म आज मैथिल समुदायले हर्षोल्लासका साथ ‘भैयादुज’ पर्व मनाउँदै छन्। दीपावली अर्थात् यमपञ्चकको पाँचौँ दिन पर्ने कात्तिक शुक्ल द्वितीयामा मनाइने यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय स्नेहलाई अझ प्रगाढ बनाउँछ।

यसपालि धनतेरस शनिबार परेको कारणले यमपञ्चक छैटौँ दिनसम्म लम्बिएको छ। त्यसैले दीपावलीको श्रृङ्खला आजको भैयादुजसहित सम्पन्न हुँदैछ।

मैथिल परम्परामा यो पर्व ‘भरद्वितीया’ वा ‘भातृद्वितीया’ नामले पनि चिनिन्छ। यस दिन विवाहित दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई निम्ता गरेर घरमा बोलाउँछन्। दाजुभाइहरू पनि माया र सम्मानका प्रतीकस्वरूप नयाँ कपडा, आभूषण वा कोसेली लिएर दिदीको घर पुग्ने गर्छन्।

पर्वको विधि विशेष र भावनात्मक दुवै हुन्छ। दिदीबहिनीहरूले अरवा चामलको पिठो मिसाएर आँगनमा ‘अरिपन’—चतुष्कोण आकृति—बनाउँछन् र त्यसको बीचमा काठको पिरामा दाजुभाइलाई बसाउँछन्। टाढाबाट आएका दाजुभाइको गोडा तातोपानीले धुने, पिठार, पानको पात र सुपारी अर्पण गर्ने तथा सप्तरंगी टीका लगाइ आशिष दिने मैथिल परम्परा निकै पुरानो छ।

संस्कृतिविद् ध्रुव रायका अनुसार सत्ययुगको कथा नै भैयादुजको आधार हो। उनका शब्दमा, “राजा बलीका दाजु यमलाई बहिनी यमुनाले विजय र दीर्घजीवनको कामना गर्दै सप्तरंगी टीका लगाएकी थिइन्। त्यसैबेला सुरु भएको परम्परा आजसम्म मिथिलामा जीवित छ।”

दिदीबहिनीले टीका लगाइसकेपछि गीतमार्फत दाजुभाइको दीर्घायु र कीर्तिको कामना गर्छन्—
“बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा।”
(अर्थात् ‘बजरी खाएर अमर बन, दान नदिए दरिद्र बन।’)

यो गीतसँगै सुकेको केराउको दाना, जसलाई ‘बजरी’ भनिन्छ, दाजुभाइलाई खुवाइन्छ। 

यसको प्रतीकात्मक अर्थ—दाजुभाइको शरीर बज्रसमान बलियो रहोस्।

भैयादुजको विधि पूरा भएपछि दाजुभाइहरूले दिदीबहिनीलाई वस्त्र, आभूषण वा नगद दक्षिणा अर्पण गर्छन्। त्यसपछि दिदीबहिनीहरूले मिष्टान्न भोजन खुवाउँदै पर्वको समापन गर्छन्।

आज मिथिलाका गाउँहरूमा आँगन सजाइएका छन्, घरघरमा दियो बालिएका छन् र गीत–संगीतको स्वर गुन्जिएको छ—
दाजुभाइको दीर्घायु र बहिनीको आशीर्वादको प्रतीक ‘भैयादुज’, मिथिलामा माया र संस्कारको उज्यालो पर्व बनेको छ।