विराटनगर कार्तिक १८ मंगलबार , मिथिलाका अमर कवि, भक्त तथा दार्शनिक कवि कोकिल विद्यापति ठाकुरको स्मृति दिवस आज विभिन्न ठाउँमा श्रद्धापूर्वक मनाइँदैछ। विद्यापति बिसैवार वंशका विष्णु ठाकुरका आठौं पुस्ताका सन्तान थिए। उनका पिता गणपति ठाकुर र आमा गङ्गा देवी (केही अनुसार हांसिनी देवी) थिइन्। जनश्रुति अनुसार गणपति ठाकुरले कपिलेश्वर महादेव (मधुबनी) वा नेपालको जनकपुर नजिकैको गाउँमा कठोर आराधना गरेपछि विद्यापति जस्ता विलक्षण पुत्रको प्राप्ति गरेका थिए।

विद्यापतिको जन्म वि.सं. ४३५० (शक संवत् ४२७२) तिर बिस्फी गाउँ (मधुबनी जिल्ला, दरभंगा मण्डल, बिहार) वा जनकपुर नजिकैको क्षेत्रमा भएको मानिन्छ। बचपनदेखि नै तीक्ष्ण बुद्धि र असाधारण कवित्वशक्ति भएका विद्यापतिले प्रारम्भिक शिक्षा महामहोपाध्याय हरि मिश्रबाट प्राप्त गरेका थिए। उनका सहपाठी पक्षधर मिश्र पनि त्यही परिवारका थिए।

उनकी श्रीमतीको नाम मन्दाकिनी देवी, छोरीको नाम दुल्लहि, छोरा हरपति ठाकुर र बुहारी चन्द्रकला थिइन्। विद्यापतिको देहावसान १४३९ ई. (लक्ष्मण संवत् ३२९) को कार्तिक धवल त्रयोदशीका दिन भएको जनश्रुति छ। भनिन्छ, उहाँको चितामा स्वयम् शिवलिङ प्रकट भएको थियो, जहाँ अहिले बालेश्वरनाथ मन्दिर अवस्थित छ।

सामाजिक, राजनीतिक र सांस्कृतिक उथलपुथलको समयमा जन्मिएका विद्यापतिले आफ्नो साहित्यमार्फत भक्ति, प्रेम र मानवताका सन्देशहरू फैलाए। उनले संस्कृत, अवहट्ठ र मैथिली भाषामा लेखेका थिए।

उहाँका प्रमुख ग्रन्थहरूमा कीर्तिलता, कीर्तिपताका, पुरुष परीक्षा, भूपरिक्रमा, गोरक्ष विजय, मणिमञ्जरी नाटिकापदावली (भक्ति तथा प्रेम कविताहरूको सङ्ग्रह) छन्। साथै धार्मिक ग्रन्थहरूमा शैवसर्वस्वसार, गङ्गावाक्यावली, दानवाक्यावलीविभागसार उल्लेखनीय छन्।

विद्यापतिको कवितामा दुई प्रमुख धाराहरू—शृङ्गार रस (प्रेममय पद) र भक्ति रस (भगवती, शिव, कृष्ण, गङ्गा आदिप्रति समर्पण)—दुवैको अद्भुत संगम पाइन्छ। उनका राधा–कृष्ण प्रेम पदहरूमा मानवीय संवेदनाको सजीव चित्रण छ, जहाँ प्रेम, समर्पण र आत्मिक एकताको सुन्दर प्रस्तुति देखिन्छ — “तोहि जनमि पुनु तोहि समाओत, सागर लहरि समाना।

पदावली’को भाषा मैथिली हो। उनका पदहरू मधुर, सरल र संगीतात्मक छन्। उनले छन्द र लयमा विभिन्न प्रयोग गरेका छन् — चौपाई, नाग, उल्लास, गीतिका, हरिगीतिका आदि छन्दमा पद लेखेका थिए।

विद्यापतिको रचनाले मिथिला, नेपाल, बंगाल र उड़ीसाका जनजीवनमा गहिरो प्रभाव पारेको छ। उनले प्रेम, नीति, धर्म र सौन्दर्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता र समर्पणको भाव जगाए। आज पनि मिथिलाका उत्सव र पर्व विद्यापतिको गीतबिनाको अपूर्ण मानिन्छ।

महाकवि विद्यापति केवल कवि मात्र होइन, भक्त, दार्शनिक र समाज सुधारक पनि थिए। उनको जीवन र काव्यले प्रेम, भक्ति, नीति र सौन्दर्यका भावहरूलाई एकै सूत्रमा बाँध्दै मिथिला सभ्यताको गौरव पुनः उजागर गरेको छ।