काठमाडौं,१६ माघ, जनताको सार्वभौम अधिकारका लागि हाँसी–हाँसी बलिदान दिएका शहिदप्रति आज औपचारिक श्रद्धाञ्जली अर्पण गरिँदै छ। तर प्रश्न उस्तै छ— शहिद दिवस केवल माला, भाषण र प्रभातफेरीमै सीमित त छैन?

जहाँनिया राणाशासनविरुद्ध निर्भीक आवाज उठाएका चार अमर शहिद— शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ—को बलिदानबिना आजको नेपाल कल्पनै गर्न सकिँदैन। १९९७ सालमा राजनीतिक अधिकार मागेको ‘अपराध’ का नाममा उनीहरूलाई झुण्ड्याइयो, गोली हानियो। निरङ्कुश शासनले सत्यलाई दबाउन खोज्यो, तर शहिदको रगतले इतिहास लेखियो।

त्यसयता पञ्चायतदेखि राजतन्त्र, र पछिल्ला लोकतान्त्रिक आन्दोलनसम्म देशका लागि ज्यान दिने शहिदको सूची लामो छ। तर तिनै शहिदको सपना पूरा गर्न राज्य कति इमानदार देखिएको छ?

आज रत्नपार्कदेखि लैनचौरसम्म प्रभातफेरी, गोकर्णेश्वरको राष्ट्रिय शहिद स्मारकमा औपचारिक कार्यक्रम हुँदैछन्। शालिक सार्ने, भाषण गर्ने, फूल चढाउने क्रम दोहोरिँदैछ। तर जेन–जी आन्दोलनसम्म आइपुग्दा शहिदप्रति सम्मान ‘सम्झनामा सीमित’ किन हुँदै गएको छ?

शहिद दिवसले हरेक वर्ष एउटै प्रश्न छाड्छ—
शहिदको बलिदान केवल इतिहासका पानामा थन्क्याउने कि, तिनको सपना व्यवहारमा उतार्ने?