एक बेहोसी, एक चोट र नफर्किएको चेतना
२०८२ माघ १८, आईतवार २१:३७दिनेश सिटौलाको जीवन लिने ‘सबअरेक्नोइड हेमरेज’को कथा

काठमाडौ माघ १८ आइतबार ,अछामको त्यो दिन सामान्यजस्तै देखिन्थ्यो। चुनावी अभियान, भीड, नारा र दौडधुप। तर यही भीडभित्र अचानक दिनेश सिटौला ढले। केही सेकेन्डमै त्यो दृश्य सामान्य राजनीतिक यात्राबाट जीवन–मृत्युको संघर्षमा बदलियो।
पत्रकारिता र सार्वजनिक अभियानमा सक्रिय सिटौला अचानक बेहोस भए, टाउकोमा गम्भीर चोट लाग्यो। अछाम जिल्ला अस्पताल पुर्याउँदा श्वासप्रश्वास बन्द भइसकेको थियो। करिब ४५ मिनेटको सीपीआरपछि मुटुको चाल फर्कियो, तर चेतना फर्केन।
त्यसपछि सुरु भयो समयसँगको दौड—
नेपाली सेनाको हेलिकप्टर, सुर्खेत हुँदै काठमाडौं, एम्बुलेन्सको साइरन र ग्रान्डी अस्पतालको आईसीयू।
ग्रान्डी अस्पतालमा भर्ना हुँदा सिटौलाको अवस्था अत्यन्तै गम्भीर थियो।
आँखाको नानी प्रतिक्रिया विहीन, उच्च रक्तचाप, न्यून मुटुगति र जीसीएस स्कोर न्यूनतम। उनलाई तुरुन्तै भेन्टिलेटरमा राखियो।
चिकित्सकहरूले पहिचान गरे—
यो सामान्य चोट होइन, ‘सबअरेक्नोइड हेमरेज’ हो।
४८ घण्टा लगातार निगरानी गरियो। उपचारका क्रममा डायबिटिज इन्सिपिडसजस्तो जटिल समस्या पनि देखियो। तर सबै प्रयासका बाबजुद मस्तिष्कको कुनै प्रतिक्रिया फर्किएन।
अन्ततः एप्निया परीक्षणले देखायो—
उनको मस्तिष्कले अब श्वासप्रश्वास नियन्त्रण गर्न सक्दैन।
आइतबार दिउँसो १२:४५ बजे दिनेश सिटौला मृत घोषित भए।
के हो ‘सबअरेक्नोइड हेमरेज’ ?
यो मस्तिष्क वरिपरि रहेको झिल्लीको खाली भागमा अचानक रगत जम्ने अवस्था हो।
प्रायः टाउकोमा गम्भीर चोट, वा कहिलेकाहीँ मस्तिष्कको धमनी फुट्दा यस्तो हुन्छ।
वरिष्ठ न्युरो सर्जनहरू भन्छन्—
यो अवस्था अत्यन्तै खतरनाक हुन्छ। धेरैजसो अवस्थामा बिरामीलाई बचाउन कठिन।
डा. सुशीलमोहन भट्टराईका अनुसार,
“सबअरेक्नोइड हेमरेज भएका करिब ८० प्रतिशत बिरामीको मृत्यु हुने जोखिम रहन्छ।”
समय नै सबैभन्दा ठूलो औषधि
यस्ता घटनामा
तुरुन्त सीटी स्क्यान
छिटो न्युरो सर्जरी
उच्चस्तरीय क्रिटिकल केयर
बाहेक अर्को विकल्प हुँदैन।
दिनेश सिटौलाको केसमा समय, चोटको गम्भीरता र मस्तिष्कको क्षतिले सबै ढोका बन्द गरिदियो।
४५ वर्षको उमेरमा, नेपाल चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष सिटौला अब सम्झनामा सीमित छन्।
उनको निधनले केवल एक परिवार होइन, नेपाली पत्रकारिता क्षेत्र नै शोकमा डुबेको छ।
कहिलेकाहीँ, एउटा बेहोस, एउटा चोट
र केही मिनेटको ढिलाइ पूरै जीवनको अन्त्य बन्छ।




