अब लाइसेन्सको अनलाइन आवेदन ४८ घण्टामै टुंग्याउनुपर्ने
२०८३ आश्विन १, बिहीबार १९:३१
यातायात व्यवस्था विभागद्वारा नयाँ निर्देशिका जारी, अस्वीकृत भए कारण खुलाउनुपर्ने
विराटपाटी संवाददाता काठमाडौं । सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा थप व्यवस्थित र छरितो बनाउने उद्देश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गरेको छ।
विभागले बिहीबार ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ जारी गर्दै अनलाइनबाट प्राप्त लाइसेन्ससम्बन्धी आवेदनलाई निश्चित समयभित्र टुंग्याउनुपर्ने व्यवस्था गरेको हो।
निर्देशिकाअनुसार नयाँ लाइसेन्स आवेदन, वर्ग थप, प्रतिलिपि, नवीकरण तथा ग्रेड वृद्धिसहितका अनलाइन निवेदन कार्यालयले तोकिएको समयभित्र परीक्षण गरी स्वीकृत गर्नुपर्नेछ।
विभागका अनुसार सामान्य अवस्थामा अनलाइनबाट प्राप्त निवेदन ४८ घण्टाभित्र स्वीकृत गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। केही प्रक्रियागत अवस्थाका निवेदन भने बढीमा ८४ घण्टाभित्र टुंग्याउनुपर्ने प्रावधान राखिएको छ।
आवेदन अस्वीकृत गर्नुपर्ने अवस्था आएमा कार्यालयले त्यसको कारणसमेत स्पष्ट रूपमा उल्लेख गरी सम्बन्धित आवेदकलाई जानकारी गराउनुपर्नेछ।
नयाँ व्यवस्थाले लाइसेन्सका लागि कार्यालय धाउनुपर्ने बाध्यता घटाउनुका साथै आवेदन प्रक्रिया, स्वीकृति र अस्वीकृतिको अवस्थाबारे सेवाग्राहीलाई स्पष्ट जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।
विभागले विद्युतीय माध्यमबाट सेवा प्रवाहलाई प्राथमिकता दिँदै प्रक्रिया पारदर्शी, समयबद्ध र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले निर्देशिका कार्यान्वयनमा ल्याएको जनाएको छ।




