दसैंमा थारू समुदायको ‘राज टीका’ : परम्परा, प्रतीक र उल्लास
२०८२ आश्विन १६, बिहीबार २०:०८
मोरङ असाेज १६, बडा दसैंको दशमी दिन थारू समुदायमा एक विशेष परम्परा जीवित छ, जसलाई उनीहरू ‘राज टीका’ भनी चिनाउँछन्। गाउँमै सामूहिकरूपमा गरिने यो टीका संस्कार थारू जीवनशैली, आस्था र सामाजिक एकताको प्रतिविम्ब मानिन्छ।
दशमीको बिहान गाउँको महटाँवा ककन्डार (गाउँको मुख्य अगुवा वा सामूहिक निर्णयकर्ता), वरघरको घर वा भुँइहार थान (स्थानीय देवस्थल) मा सर्वप्रथम टीका चढाइन्छ। त्यसपछि गाउँभरिका मानिसहरू एउटै स्थानमा भेला भई अगुवा मान्यजनको हातबाट टीका थाप्ने क्रम सुरु हुन्छ।
यो टीका सेतो रंगमा चढाइन्छ, जसमा जमरा, डौना र बेबरी पनि अनिवार्य रुपमा रहने गर्छ। सेतो टीकालाई शान्ति र सौहार्दको प्रतीक मानिन्छ। पछिल्लो पुस्तामा भने रातो टीका पनि चलनमा आउन थालेको देखिन्छ।
टीकाको दिन खासगरी बरैन (बरघरको वंशजहरू) एक बोतल रक्सी, जमरा र बेबरी लिएर गुरुवा (धार्मिक अगुवा) को घरमा पुग्ने गर्छन्। गुरुवालाई थारू समुदायमा विशेष सम्मान दिने परम्परा रहिआएको छ। गुरुवाको हातबाट टीका थापेपछि उनीहरू आशीर्वाद ग्रहण गर्छन्।
सामूहिक टीका संस्कारपछि बेलुकी महटाँवाको आँगन चहलपहलले भरिन्छ। सख्या नाच त्यही दिन विशेष रूपमा आयोजना गरिन्छ। युवतीहरू मौलिक थारू पोशाक – लहँगा, कुरथाँ, चोलिया, गोन्या र गहनामा सजिएर नवदुलहीझैँ प्रस्तुत हुन्छन्। त्यस्तै युवाहरू धोती, कुर्ता, अगुच्छा, सर्त लगाएर, डौना–बेबरीको माला भिरेर मादल बजाउँदै नृत्यमा सहभागी हुन्छन्।
नृत्यक्रम अघि–अघि मन्डरिया (गीत उठाउने) र पछि नचनिया हरूको लाम हुन्छ। कहिले दुई लाइन, कहिले चार लाइनमा नाच्ने परम्परा छ। कतिपय बेला घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ। सख्या गीतमा एक जना मोरह्निया गीत सुरु गर्छिन् र अरू महिलाहरू त्यसपछि ताल मिलाउँदै गाउँछन्।
मादलको ताल, मञ्जिराको झंकार र जिउको लयात्मक चालसँग मिसिएको सख्या नृत्य दसैंकै रमाइलोपनलाई अझै भव्य बनाइदिन्छ।
यसरी ‘राज टीका’ थारूहरूको दसैंमा मात्र होइन, उनीहरूको सामाजिक एकता, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको जीवित प्रतीक हो।




