अशान्ति मन्दिएपछि चिनियाँ कम्पनी पुनः नेपाल फर्कियो, २० अर्बभन्दा बढी लगानीसहित मासु प्रशोधन उद्योग अगाडि
२०८२ कार्तिक २४, सोमबार २०:४४
काठमाडौ कार्तिक २४ साेमबार ,हालै भएको भदौ २४ मा भएको तोडफोड, आगजनी र लुटपाटका कारण ‘हाइ–रिस्क कण्ट्री’ भन्दै नेपाल छाडेर फर्किएको चिनियाँ छेन्दु जियान फुड कम्पनी पुनः नेपाल फर्किएको छ। उद्योग विभागबाट २० अर्ब रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (FDI) स्वीकृति पाएको यो कम्पनी नेपालकै इतिहासमा मासु प्रशोधन क्षेत्रमा सबैभन्दा ठूलो लगानीकर्ता बन्ने तयारीमा छ।
गत बिहीबार ७ सदस्यीय प्रतिनिधि टोली नेपाल आएको छ। उनीहरूले आजै प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर लगानीको सुरक्षा, स्थिरता र सरकारी प्रतिबद्धताबारे प्रत्यक्ष आश्वासन लिन समय मागेका छन्। कम्पनीका थप ५ प्रतिनिधि मंगलबार नेपाल आउनेछन्।
छेन्दु जियान कम्पनीले नेपालमा उत्पादन गर्ने मासु चीन निर्यात गर्ने तथा पशुपालनदेखि प्रशोधनसम्मको पूर्ण उत्पादन चक्र नेपालमै विकास गर्ने योजनामा छ। यसका लागि कम्पनीले हिमालयन फुड इन्टरनेशनलसँग साझेदारी गरेको छ। सम्झौताअनुसार हिमालयन फुड इन्टरनेशनलको ७८% सेयर जियान कम्पनीले लिने
कम्पनीका अध्यक्षमा वु स्याङ नियुक्त हुने
बाँकी २२% सेयर नेपाली पुरानो समूहका नाममा रहने
व्यवस्था मिलाइएको छ।
अशान्तिपछि चीन फर्किएका प्रतिनिधि नेपाल नफर्कने अवस्थामा पुगे पनि, हिमालयन फुडका तत्कालीन अध्यक्ष नवीन शर्मा चीन पुगेर चिनियाँ सरकारको सहजीकरणमा पुनः लगानी निरन्तरता दिलाएका थिए। त्यसपछि कम्पनीले अतिरिक्त पूँजी पनि चीनबाट नै ल्याउने निर्णय गरेको छ, किनकि “नेपालमा बैंक ऋण महँगो” रहेको उनीहरूको मूल्यांकन छ।
कम्पनीले तीन वर्षमा कुल २० अर्ब लगानी भित्र्याउने तालिका पेश गरिसकेको छः पहिलो वर्ष: ६ अर्ब,दोस्रो वर्ष: १० अर्ब,तेस्रो वर्ष: ४ अर्ब यसै सात २ अर्ब रूपैयाँ अतिरिक्त लगानी भित्र्याउन राष्ट्र बैंकमा स्वीकृति मागिएको छ।सिन्धुलीको मरिण–४ मा १०० बिघा क्षेत्रमा बन्ने उद्योगले
वार्षिक २ लाख मेट्रिक टन मासु,५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग आदि)
उत्पादन गर्नेछ।उद्योग सञ्चालनमा आएपछि ५,१५६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।
कम्पनीले आगामी २०२६ फेब्रुअरीबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। तर त्यसअघि शान्ति–सुरक्षाको स्पष्ट आश्वासनका लागि प्रधानमन्त्रीसँग भेट अपरिहार्य भएको कम्पनीले जनाएको छ।
चीन अहिले विश्वकै सबैभन्दा ठूलो मासु उपभोक्ता देश भएकाले, भौगोलिक रूपमा नेपाल नजिक र लागत कम परेकाले नेपाललाई निर्यात उद्योगका लागि रणनीतिक अवसरका रूपमा सम्बोधन गरिएको छ।




